चितवन , असोज २३ । चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिए पछि आज मनोनयन दर्ताको दिन उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस उम्मेदवारीलाई उनले बिद्रोहको रुपमा लिएका छन् ।
चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेसबाट विश्व पौडेलले टिकट पाएका छन् ।काँग्रेसले पार्टीमा केही योगदान नभएको व्यक्तिलाई उम्मेदवारको लागि अगाडि सारेको, साथै गैह्र कांग्रेसलाई टिकट दिएको उनको भनाइ छ । पार्टी नेतृत्वले जनताको मन नबुझेको उनले बताए ।
वि.सं. २०३७ देखि सक्रिय राजनितीमा लागेका बुर्लाकोटी उसअघि दुइ पटक सम्म पार्टीका उम्मेदवार भइसकेका छन् । उनी दुबै पटक एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए । आफू उम्मेदवार हुँदा लोकप्रिय मत ल्याएको उनले दाबी गरेका छन् ।
कार्यकर्ताको मनोबल राख्नको लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए । यस्तै चितवन क्षेत्र १ ‘क’ तर्फ धनराज गुरुङले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा गुरुङ पराजित भएका थिए । सो स्थानमा हाल किरण वलीले टिकट पाएका छन् ।