बागमती प्रदेशमा घुमफिर बर्ष : पर्यटकलाई स्वागत गर्दै सौराहाबाट गरियो घोषणा

September 28, 2022 10:15 am

विष्णुबाबु जोशी/ रत्ननगर ।
बागमती प्रदेश सरकारले घुमाफेर वर्ष २०७९/८० को घोषणा गरेको छ । प्रदेश सरकारले तेस्रो पर्यटकिय नगरी चितवनको सौराहाबाट मंगलबार प्रदेशस्तरीय घुमफिर वर्ष घोषणा गरेको हो । संस्कृति तथा पर्यटन मन्त्रालयले मंगलबार सौराहामा औपचारिक कार्यक्रमको आयोजना गरी घुमफिर वर्षको उद्घाटन तथा घोषणा गरेको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले घुमफिर वर्षको औपचारिक घोषणा तथा उद्घाटन गरेका हुन् । । बेलायतबाट नेपाल घुम्न आएका ६ जना विदेशी पर्यटकलाई घोषणा सभामा स्वागत गर्दै घुमफिर बर्ष घोषणा गरिएको थियो । प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको विकास गर्ने र स्थापित गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटक भिœयाउने योजनाका साथ प्रदेश सरकारले घुमफिर वर्ष मनाउन लागेको हो । नेपाल भ्रमण वर्ष असफल भएपछि प्रदेश सरकारले घुमफिर वर्ष सुरू गरेको हो ।

घोषणा सभामा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेशश्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल र प्रदेश मन्त्रालयका सचिव, चितवनका पालिकाका मेयर तथा पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।
घुमफिर वर्ष अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने,पुराना पर्यटकीय गन्तव्यमा सेवा थप तथा गुणस्तरीय बनाउने र अहिलेसम्म पर्यटन नपुगेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पु¥याउने योजनाका साथ घुमफिर वर्ष घोषणा गरिएको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव मदन कोइरालाले बताए । उनले कोरोना महामारी अन्त्य भएपछि विदेशी पर्यटकको आगमन कम भएकाले घुमफिर वर्षको उद्घाटनमा नेपाल आएका विदेशी पर्यटकलाई स्वागत गरिएको बताए । नेपालका पर्यटन व्यवसायी विदेशी पर्यटकलाई स्वागत गर्न आतुर छन् भन्ने सन्देश प्रवाह गर्न विदेशी पर्यटकलाई स्वागत गरिएको सचिव कोइरालाले बताए ।

घुमफिर वर्षमा प्रदेशको मह¤वपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदामा सौराहा, मेघौली, नारायणगढ, मकवानपुरगढी, चित्लाङ, मार्खु, इन्द्रसरोवर, गोसाईंकुण्ड, लामटाङ, शैलुङ, कालिन्चोक, गौरीशङ्कर हिमाल, पाँचपोखरी, शिवालय क्षेत्र, पशुपतिनाथ, गुहेश्वरी, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, रूवीभ्याली, गणेश हिमाल, स्वयम्भू, नुवाकोट दरबार,सिन्धुलीगढी, हरिहरपुरगढी, नगरकोट, पनौती, धुलिखेललगायतका सम्पदाहरुलाई मह¤वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउँदै ती गन्तव्यमा पर्यटक लैजाने योजना रहेको सचिव कोइरालाले बताए ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले कोरोनाले थलिएको सौराहाको पर्यटन अझै उठ्न नसकेको बताए । ‘व्यवसायीले अपेक्षा गरेअनुसार अहिले पनि पर्यटक आएका छैनन्’, उनले भने,‘होटल सञ्चालकलाई खर्च धान्नसमेत मुस्किल छ ।’ उनले पर्यटनलाई पुरानै अवस्थामा फर्काउन सरकारले व्याजदर कम, पुनर्कर्जाको अवधि दुई वर्ष थप र होटल क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने बताए । ‘ऋण तिर्न सक्ने अवस्था छैन’, उनले भने,‘हामीले तिर्छौं र समय चाहिएको छ ।’
मुख्यमन्त्री पाण्डेले पर्यटनमार्फत प्रदेशको आर्थिक विकास गर्ने योजनाका साथ घुमफिर वर्ष घोषणा गरिएको बताए । ‘कोरोनाले शिथिल बनेको प्रदेशको पर्यटनलाई पुनर्जीवन दिन घुमफिर वर्ष घोषणा गरेका हौ’, उनले भने,‘यो प्रदेश सरकारको गौरवको योजना हो ।’
रत्ननगरका मेयर प्रल्हाद सापकोटाले घुमफिर वर्ष चितवनको पर्यटन विकासमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । उद्घाटन हुनुपूर्व सौराहामा शोभायात्रा निकालिएको हो ।