रत्ननगर खानेपानीको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न दलीय कार्यदल

September 10, 2022 9:01 pm

रत्ननगर २५ भदौ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिवार उद्घाटन भएको छ ।

अधिवेशनले संस्थाको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । कार्यक्रममा संस्थाका अध्यक्ष भीष्मराज पौडेलले बार्षिक प्रतिवेदन तथा नीति तथा कार्यक्रम, सचिव कृष्णप्रसाद नेपालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु पौडेलले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक वलराज भट्टले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उल्लेखित प्रतिवेदन साधारण सभाको बन्दसत्रले सर्वसम्मत पारित गरेको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।

रत्ननगरका ११ वटा वडामा खानेपानी वितरण गर्दै आएको सो संस्थाको अधिवेशनका लागि वडातहबाट ५३७ जना परिषद् सदस्य निर्वाचित भएर आएका छन् । नगरमा क्रियाशिल दलहरुले राजनीतिक हैसियतका आधारमा परिषद् सदस्य सर्वसम्मत चयन गरेका हुन । सो संस्थामा नयाँ नेतृत्व चयनका लागि दलीय प्रतिस्पर्धा हुने गरेको छ । यस अघिको पाँचौ अधिवेशनमा पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । परिषद् चयनमा दलहरु बीचमा भएको भागबण्डाका कारण खानेपानीको मुल समिति चयनमा पनि दलीय प्रभाव देखिएको हो ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले सो संस्थाको नेतृत्व र पदाधिकारीमा दावी गरिरहेका छन् । तर साना दलहरुले चासो दिएका छैनन् । एमालेबाहेक अन्य दलहरु गठबन्धनमा छन् । तीन दलीय गठबन्धन र एमाले बीच चुनावी प्रतिपस्र्धा हुने सहज आकलन गरिएको भएपनि गठबन्धनका दल भित्रै किचलो सुरु भएका कारण एमाले सहित सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सुरु भएको छ ।

सहमतिका लागि नगर स्तरीय राजनीतिक दलका प्रमुखहरुको कार्यदल गठन गरिएको छ । नेपाली कांग्रेसका नगर सभापति समेत रहेको रत्ननगरका मेयर प्रल्हाद सापकोटा संयोजक रहेको कार्यदलको सदस्यमा एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल र एकीकृत समाजवादीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे रहेका छन् ।

कार्यदलले नगर भित्रका दलहरु बीच सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्ने छ । अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष सहित तीज जना महिला सदस्य र दुई जना सदस्य तथा लेखा समिति संयोजक र दुई सदस्य चयन गर्ने छ । साधारण सभाको बन्दसत्रले प्रतिवेदन पारितसंगै निर्वाचन समिति गठन गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । निर्वाचन समितिले कार्यदलसंग समन्वय गरी निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।

साधारण सभामा संस्थाका पूर्व पदाधिकारी, पूर्व वडासंयोजक,संस्थापक वडासंयोजकहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अथिति मन्त्री खनालले खानेपानी संस्थाको पूर्वाधार निर्माण र संरचना मर्मतको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । प्रदेश सांसद कन्चन खनालले खानेपानी संस्थालाई स्थानीय सरकारले संरक्षण र आर्थिक सहयोग गर्नुपर्ने बताइन । मेयर सापकोटाले खानेपानीको न्यूनतम शुल्क घटाउन सुझाव दिए । उनले पिठुवा र बछौली खानेपानीलाई समेत समायोजन गरी एकीकृत खानेपानी आयोजना बनाउनु पर्ने बताए । उपमेयर यादबप्रसाद पाठकले अन्य खर्च कटौती गरी बचेको रकम संरचना निर्माणमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, संस्थाका निर्वतमान अध्यक्ष ऋषिराम वाग्ले,पूर्व अध्यक्ष महेशप्रसाद रौनियार,नेपाली कांग्रेसका महासमिति सदस्य उत्तम आचार्य, पूर्व वडा सदस्य अमृत मल्ल, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नारायण आचार्य लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष रामहरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए । २०५८ सालमा स्थापना भएको सो संस्थाको ११ हजार १९४ उपभोक्ता रहेका छन् । संस्थागत धारा १५८,सामुहिक २५६, विपन्न बर्गको धारा ५६९ र निजी धारा १० हजार २११ रहेको व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।