रत्ननगरमा नेपाल बजार विक्री प्रतिनिधि संघको महाधिवेशन सुरु

September 9, 2022 8:15 pm

रत्ननगर । नेपाल बजार विक्री प्रतिनिधि संघको छैठौं राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रवार देखि सुरु भएको छ । रत्ननगरमा आयोजना गरिएको महाधिवेशनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।

दुई दिन सम्म चल्ने महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । महाधिवेशनमा देशभरबाट करिव ७०० जना प्रनिनिधि तथा परिवेक्षक सहभागी छन् । महाधिवेशन अन्तर्गत हुने निर्वाचनबाट एक अध्यक्ष सहित एक बरिष्ट उपाध्यक्ष, ७ उपाध्यक्ष १ महासचिव, ७ सचिव र ३४ जना केन्द्रीय सदस्य गरी ५१ सदस्यीय कार्यसमिति निर्वाचित हुने संघ अन्तर्गतको नारायणी इकाइका सदस्य रमेश नेपालले जानकारी दिए ।

संघको अध्यक्षका लागि तीन जनाले दावी गरेको बुझिएको छ । वर्तमान बरिष्ट उपाध्यक्ष नरेन्द्र विष्ट,संस्थापक उपाध्यक्ष बसन्तराज सिग्देल र पूर्व उपाध्यक्ष छवीलाल शर्माले अध्यक्षमा दावी गरेका छन् । विष्ट विराटनगर, सिग्देल पोखरा र शर्मा बुटवलका व्यवसायी हुन । शनिवार विहान सम्म सर्वसम्मतिको प्रयास गर्ने र सहमती जुट्न नसके विहानदेखि निर्बाचन प्रक्रिया सुरु हुने छ ।

उद्घाटन कार्यक्रममा मन्त्री खनालले पेशगत संघ संगठनमा राजनीति हावी हुन दिन नहुने बताए । पेशागत संघसंस्थामा राजनीति हावि भयो भने अस्थित्व सकिन्छ उनले भने नयाँ नेतृत्व चयन प्रक्रियामा राजनीति प्रवेश गर्नुहुदैन । संघका अध्यक्ष सुर्य पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष ऋषि अधिकारी, लेखा समिति संयोजक नवराज भूजेल, नारायणी इकाइ अध्यक्ष सविन लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नारायणी क्षेत्रीय समितिका निर्वतमान अध्यक्ष तथा जनप्रतिनिधि सुदन भण्डारीलाई व्यवसाय प्रर्वद्धनमा खेलेको भूमिकाको उच्च मुल्याङ्न गर्दै सम्मान गरिएको छ ।