रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभा सम्पन्न

September 5, 2022 6:33 pm

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको २३औं बार्षिक साधारण सभामा सोमबार चितवनको पर्यटकीय नगरी सौराहामा गरिएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा महासचिव निराजन खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र अध्यक्ष अनिलकृष्ण श्रेष्ठले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/८० को आयव्याय तथा भावि कार्ययोजना सर्बसम्मत रुपमा परित भएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले चितवनलाई नेपालको प्रमुख पर्यटनको हब बनाउन माग गरेका छन् । साधारण सभामा अबधारणपत्र प्रस्तुत गर्दै संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले प्रस्तुत गरेको अबधारणपत्रमा चितवन आर्थिक सम्भावनायुक्त जिल्ला भएका कारण केरुङ ठोरी राजमार्ग, पूर्वपश्चिम विद्युतीय रेलमार्ग, सुविधा सम्पन्न विमानस्थल, अन्र्तराष्ट्रिय रंगशाला लगायतका पूर्वाधार निर्माण गरी चितवनलाई नेपालकै पर्यटन हब बनाउन माग गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र गम्भिर मोडमा रहेको बताए । उनले निजी क्षेत्रको भूमिकालाई राज्यले बेवास्था गरेका कारण अर्थतन्त्र कमजोर भएको उनको भनाई छ । व्यवसायीको लगानी सरक्षित गर्ने दायित्व राज्यको हो उनले भने तर सरकारले निजी क्षेत्रलाई एउटा अंगको रुपमा हेर्दैन । उपाध्यक्ष श्रेष्ठले कोरोनाको महामारीका कारण थलिएको निजी क्षेत्रलाई राहत दिन सरकार असफल भएको बताए । नेपालको निजी क्षेत्रले १० बर्षमा २२ लाख जनशक्तिलाई रोजगारी दिने र ५० प्रतिशत आयत घटाउन लक्ष्य राखेका उनले बताए ।

महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले नेपालको निजी क्षेत्र बाच्न सक्ने अबस्थामा नरहेको भन्दै यसको मुख्य कारण राज्यको नीति रहेको बताए । निजी क्षेत्र प्रतिस्पर्धा हुने र राज्यले यसको संरक्षण गर्ने हो भने मात्र निजी क्षेत्र धानिन सक्ने अबस्था आउने उनको भनाई छ । उनले छुट्टै औद्योगिक क्षेत्र घोषणा गरी उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन राज्य चुक्न नहुने उनको भनाई छ ।

कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेश सांसद कन्चन खनाल, जिल्ला समन्वय समितिका सभापति नारायण अधिकारी, रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, बागमती प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.कृष्ण पन्त, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघका बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी,रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम महासचिव निराजन खनालले सञ्चालन गरेका थिए ।