देशको विकास र सम्वृद्धि नै मेरो सङ्कल्प : प्रचण्ड

September 3, 2022 3:22 pm

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सम्वृद्धि नै आफ्नो सङ्कल्प रहेको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शनिबार शिलान्यास गर्दै प्रचण्डले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए।

उनले भने, जनताको चाहना विकास र समृद्धि भएकोले शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो। भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उनले बताए। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरेकी छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए। भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको छ। निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ।

उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ। ठेक्काको रकम रु दुई अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ। भरतपुर बाइपास सडकको पुरै र छ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ। बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ। सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ। सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ। भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो। एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो।