अर्पणको तीज गीत प्रतियोगितामा दिदीबहिनी समुह प्रथम

August 30, 2022 8:49 pm

रत्ननगर, भदौ १४ ।
पूर्वि चितवनको रत्ननगरमा आयोजना गरिएको प्रतियोगितात्मक तीज उत्सब कार्यक्रममा रत्ननगर १५ पिठुवाको राममन्दिर दिदीबहिनी समुह प्रथम भएको छ ।

रेडियो अर्पण १०४ दशमलब ५ मेगाहर्ज र अर्पण बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा आयोजना गरेको सो प्रतियोगितामा प्रथम हुँदै दिदीबहिनी समुहले २० हजार ५५५ रासीको पुरस्कार जित्न सफल भएको हो । प्रतियोगितामा रत्ननगर १६ को जौबारी टोल विकास संस्था द्धितीय भएको छ । उसले १८ हजार ५५५ रासीको पुरस्कार हात परेको छ । वडा नं १ को सुनौलो महिला समुह तृतीय र कालिका वडा नं २ को चित्रबन स्कुल सान्त्वना भएको छ ।

तृतीय हुनेलाई ५ हजार ५५५ र सान्त्वना हुनेलाई ५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा रत्ननगर १५ को उद्यमशिल महिला समुहले उत्कृष्ट नृत्य घोषित भएको छ । प्रतियोगितामा १२ वटा समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रकाशमणि सापकोटाको टिमले निर्णायकको भूमिका निभाएका थिए । प्रतियोगिताको उद्घाटन गर्र्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले तीजको मौलिकता जोगाउनु पर्ने बताए । आधुनिक समाजको विकाससंगै तीजको मौलिकता हराउदै गएको भन्दै कला र संस्कृतिको लागि पनि तीजलाई जीवित राख्न आवश्यक रहेको बताए ।

रेडियोका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कन्चन खनाल, वडाध्यक्ष सोहेन्द्रराज खरेल,वडा नं ५ की कार्यबहाक वडाध्यक्ष निलु खतिवडा,रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी,नारायणी डेभलपमेन्ट बैंकका कार्यकारी निर्देशक पशुपती पौडेल,एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसका नरहरी पौडेल लगायतले मन्तव्य राखेका थिए । रेडियोका उपाध्यक्ष यमन भूषालले स्वागत मन्तव्य राखेका कार्यक्रममा सचिव सुरज पौडेलले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।