सरकारी विद्यालय बन्दको आन्दोलन फिर्ता

August 29, 2022 9:19 pm

काठमाडौं । विभिन्न माग राखेर हिजोदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले आन्दोलन फिर्ता लिएको हो ।

आज मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता लिएको हो । उनीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि विद्यालय खुल्ने भएका छन् । परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणालाई ऐक्यवद्धता जनाउँदै देशभरका करिब ९० प्रतिशत सामुदायिक विद्यालय आज सोमबार पनि बन्द भएका थिए ।

सोमबार भएको छलफलमा मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन स्थगित गरेको परिषदका महासचिव शान्तिनाथ योगीले बताए ।

‘आज सरकार, शिक्षक महासंघ र परिषदबीच सामान्य छलफल भयो । सरकारले वार्ता टोली गठन गरेर वार्ता गर्ने भएको छ । त्यसैले तत्काललाई हामीले आन्दोलन फिर्ता लिएका छौं’ उनले भने । अब हुने वार्तामा चित्तबुझ्दो सहमति नभए फेरि आन्दोलन थाल्ने उनले बताए ।