तिजको दिन रेडियो अर्पणले ‘तिज उत्सव’ गर्ने

August 27, 2022 6:33 pm

रत्ननगर ११ भदौं ।
हरितालिका तीजको अबसरमा भदौं १४ गते रत्ननगरमा प्रतियोगितात्मक तीज उत्सव कार्यक्रम हुने भएको छ । रेडियो अर्पण १०४ दशमलब ५ मेघाहर्जको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्थाको सह आयोजनामा रत्ननगर १ सौराहाचोकमा कार्यक्रम हुने छ । आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो । तीजको मौलिक संस्कृति संरक्षणको लागि आयोजना गरिएको सो प्रतियोगितामा करिब २० वटा समुहको सहभागिता रहने कार्यक्रम संयोजक संजय दुवाडीले जानकारी दिए ।

समाज र व्यक्तिलाई इज्जतमा आँच नआउने गरी जुनसुकै विषयमा पनि प्रतियोगीहरुले गीत प्रस्तुत गर्न पाउने रेडियोका सचिव तथा सहकारीका उपाध्यक्ष सुरज पौडेलले जानकारी दिए । रेडियो अर्पणले हरेक बर्ष तीज गीत प्रतियोगिता गर्दै आएको छ । कोरोनाका कारण दुई वर्ष यो कार्यक्रम हुन सकेन । चितवनका दिदीबहिनीहरुको अर्पणलाई माइतीको आगनीका रुपमा विकास गर्न हरेक बर्ष तीज गीत प्रतियोगिता गर्दै आएको रेडियोका अध्यक्ष मेघनाथ पौडेलले बताए ।

नारीको बेदना र समाजको घटनालाई गीत मार्फत उजागर गर्ने तीजको विशेषता रहेको भन्दै अध्यक्ष पौडेलले अर्पणले त्यसैका लागि अबसर प्रदान गर्दै आएको बताए । प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुनेलाई नगद पुरस्कार समेत व्यवस्था गरिएको छ ।