सौराहाका मुसहर परिवारलाई घर हस्तान्तरण

August 26, 2022 4:36 pm

रत्ननगर,भदौ १० ।
रत्ननगर ७ मा रहेका विपन्न २३ मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसल ईम्प्याक्टले २३ वटा घर निर्माण गरेर शुक्रबार हस्तान्तरण गरेको हो ।

तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत सौराहामा रहेको मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले बताए । ‘सपनाका घरहरु’ नाम दिइएको २३ घर सपना भिलेजको रु ६९ लाख ४१ हजार ३ सय ८५ रुपैँया,रत्ननगर नगरपालिकाको रु ३२ लाख ८ हजार ५ सय २९ रुपैँया गरी रु १ करोड १ लाख ४९ हजार ९ सय १४ रुपैँयामा निर्माण गरिएको गिरिले जानकारी दिए ।

घर हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले सफा, सुन्दर र नचुहीने घर पाएपछि घर संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘घर पाएसंगै आफ्ना छोराछोरीलाई उचित शिक्षा दिनुपर्छ त्यो दायित्व अभिभावकको हो ।’मुसहर समुदायका व्यक्तिहरुलाई आजैबाट जाड रक्सि त्यागी असल अभिभावक बन्न उनले सुझाव दिए । जाड रक्सि खाएर हो–हल्ला गर्ने, आफ्ना श्रीमती कुट्ने कार्य गरेको देखेमा, पाईएमा त्यस्ता व्यक्तिलाई कानुन अनुसार कारबाही गर्ने उनले बताए ।

घर हस्तान्तर कार्यक्रममा रत्ननगर नगरपालिकाका निवर्तमान मेयर नारायण वन, वडा नं. ७ का वडा सदस्य सूर्य वहादुर तामाङ, वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष राजन भट्ट, मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दुर्गा प्रसाद शर्मा, सपना भिलेज सोसल ईम्प्याक्ट सञ्चालक समितिका सदस्य राम भण्डारी, बाघमारा सामुदायिक बनका अध्यक्ष जितु तामाङ, रेवान सौराहाका अध्यक्ष नरेश गिरि लगाएतको उपस्थिती रहेको थियो ।