रत्ननगर कांग्रेसको तिज कार्यक्रम : तिन जना महिला सम्मानित

August 24, 2022 7:45 pm

रत्ननगर ०८ भदौं । हरितालिका तीजको अबसरमा नेपाली कांग्रेस रत्ननगर नगर समितिले बुधवार तीज विशेष कार्यक्रम गरेको छ । संस्कृति संरक्षण र पार्टीलाई महिलाहरुको आगनीको रुपमा स्थापित गर्न कार्यक्रम आयोजना गरिएको नगर सभापति तथा मेयर प्रल्हाद सापकोटाले बताए । तीजको शुभकामना साटासाट गर्न आयोजना गरिएको सो कार्यक्रममा महिला नेतृहरुले गठबन्धनका कारण महिला माथि अन्याय भएको बताएका छन् ।

संविधानले स्थानीय तहको निर्वाचनमा पालिकाको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला अनिबार्य गरेको भन्दै उनीहरुले गठबन्धनका कारण अधिकाँस पालिकामा महिलाले पद पाउन नसकेको बताए । कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले निर्वाचनमा गठबन्धन हुँदा महिला अन्यायमा पर्नु दुर्भाग्य भएको बताइन । गठबन्धनका कारण महिला अन्यायमा पर्नु प¥यो उनले भनिन् अब महिलाहरु ५० प्रतिशत अधिकारका लागि अन्तिम लडाई लड्नु पर्ने बेला आएको बताइन । उनले गठबन्धनका कारण महिलाले पाउने ३० प्रतिशत अधिकार समेत पाउन नसकेको बताइन । तीज खुसी, सदभाब, एकता र प्रेमको प्रतिक रहेको भन्दै उनले यसको धार्मिक र सांस्कृतिक महत्व उत्तीकै रहेको बताइन ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश समिति सदस्य तारा गुरुङले गठबन्धनको नाममा महिलाको अधिकार खोसिएको बताइन । संविधानले दिएको अधिकार खोसियो उनले भनिन् जित्ने र जिताउने खेलका कारण महिला अधिकारबाट बन्चित हुनुप¥यो । संविधान सभा सदस्य तथा महिला नेतृ सावित्रीदेवी चौधरीले आसन्न आम निर्बाचनमा जिल्लाका तीन क्षेत्र मध्ये दुई क्षेत्र कांग्रेसले पाउनु पर्ने बताइन ।

गठबन्धनका नाममा कांग्रेसलाई कम सिट दिइयो भने महिलाहरुले आन्दोलन सुरु गर्ने उनको भनाई छ । कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले तीजको अबसर पारेर कांग्रेस चितवनले पार्टीका दृष्टिकोण जनताको घरदैलोमा लैजाने गरी अभियान सुरु गर्न लागेको बताए । दिदी बहिनीहरुलाई दर खुवाउदै पार्टीको योजना,दृष्टिकोण र सिद्धान्त जनताको घरदैलोमा लैजाने गरी अभियान सुरु गर्न लागेको उनले बताए । तीजको अबसर पारेर कांग्रेस नगर समितिले तीन जना महिला नेतृहरुलाई सम्मान गरेको छ । संविधान सभा सदस्य सावित्रीदेवी चौधरी,गीता धमला, र डिलकुमारी बराललाई सम्मान गरिएको नगर सभापति प्रल्हाद सापकोटाले जानकारी दिए । कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वणिम वाग्ले,महासमिति सदस्य गीता देवकोटा,महाधिवेशन प्रतिनिधि निता ढकाल,क्षेत्रीय कोषध्यक्ष लक्ष्मी भट्ट,नगर सचिव अपिल अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

नगर सभापति सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव अनिता अर्यालले सञ्चालन गरेकी थिइन । कार्यक्रममा एकीकृत समाजवादी परित्याग गरी कृष्णदत्त पौडेल कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई नगर सभापति सापकोटा र केन्द्रीय सदस्य डा. संग्र्रौलाले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।