रत्ननगरको हरिहर मन्दिरमा धर्मशाला शिलान्यास

August 19, 2022 6:11 pm

रत्ननगर,भदौ ३ ।
रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर परिसरमा शुक्रवार धर्मशाला शिलान्यास गरिएको छ । चितवनमा धार्मिक पर्यटनको विकासको लागि निर्माण गर्न लागिएको धर्मशालाको दोस्रो भवनको शिलान्यास गरिएको हो ।

मन्दिर संरक्षण समितिले मन्दिर परिसरमा धर्मशाला बनाउन लागेको हो । धर्मशाला कृष्णजन्माष्टमीको अवसरमा शुक्रवार वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले शिलान्यास गरेका हुन् । सो अबसरमा उनले पर्यटकीय नगरी सौराहा रहेको रत्ननगरमा निर्माण गर्न लागिएको धर्मशालाले धार्मिक पर्यटनको विकास गर्ने बताए । मन्त्री खनालले धर्मकर्म गर्न आउने व्यक्तिहरु गाडीमै सुत्नुपर्ने बाध्यता, सडक छेउमा खाना पकाउनुपर्ने अवस्थामा परिवर्तन ल्याउन धर्मशाला आवश्यक रहेको बताए । धर्म हाम्रो परम्परा हो उनले भने यस्को संरक्षण र संवद्र्धन गर्नुपर्छ ।

१० करोड २२ लाख लगानीमा पाँच तले सुविधा सम्पन्न धर्मशाला निर्माण गर्ने योजना रहेको धर्मशाला निर्माण समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिए । प्रदेश सरकारको ३ करोड र स्थानीय सरकारको सहयोग र मन्दिरको रकमबाट, दाताहरुको सहयोगबाट धर्मशालाको भवन निर्माण सुरु गरिने उनले बताए ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, कालिका नगरपालिकाका मेयर विनोद रेग्मी, रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, पूर्वशिक्षामन्त्री शेषनाथ अधिकारी, समाजसेवी राजेन्द्र बुर्लाकोटी, मन्दिर संरक्षण समितिका वरिष्ठ उपाध्याय निलकण्ठ शर्मा पौडेल, गायत्री वेदवेदाकं संस्कृत विद्यालयका प्राचार्य सन्तोष आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष नेमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।