चितवनमा सवारी साधनमा डस्टवीन अनिवार्य

August 16, 2022 8:56 am

चितवन,साउन ३१ ।
चितवन जिल्ला भित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा डस्टवीन राख्नु पर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको समन्वयमा सोमवार वसेको वैठकले साना,ठुला सवै सवारी साधनमा डस्टवीन राख्नु पर्ने निर्णय गरेको हो । योगदान राष्ट्रको लागि नामक संस्थाको अगुवाईमा दुर्घटना न्यूनिकरण तथा स्वच्छ वातावरण हाम्रो सरोकार भन्ने नारालाई मध्ये नगर गर्दै यस्तो निर्णय गरेको योगदान राष्ट्रको लागि संस्थाका केन्द्रिय सल्लाहकार रितु गिरीले जानकारी दिईन् । वागमती प्रदेशका यातायात मन्त्री धनश्याम दाहालको विशेष उपस्थितिमा भएको वैठकमा साना ठूला यातायातका व्यवसायिक संगठनका प्रतिनिधिहरू,जिल्ला ट्राफिक कार्यालय प्रमुख,महानगर यातायात शाखा प्रतिनिधि एवम योगदान राष्ट्रको लागि संस्थाको केन्द्र,जिल्ला र नगर प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सात दिन भित्र लागु हुने गरि साना,ठुला सवारी साधनमा फोहोरदानी(डस्टविन) राख्ने सहमति भएको केन्द्रिय सल्लाहकार गिरीले वताईन् । यातायात प्रयोग गर्ने यात्रुहरूले फोहोर निर्दिष्ट ठाउँमा राख्ने तथा चालक सहचालकहरूले पनि फोहोर डस्टविनमा नै राख्न सबै यात्रुहरूलाई अनुरोध गर्ने गरी योजना तय भएको उनले बताईन् । यस कार्यको परिपालना भए नभएको अनुगमनको लागि जिल्ला ट्राफिक प्रमुख धर्मबहादुर अधिकारीको संयोजकत्वमा,योगदान राष्ट्रका लागिका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी तथा यातायात व्यवसायी संगठन प्रतिनिधि बद्री पौडेल सदस्य रहने गरी समिति गठन गरिएको छ । योगदान रास्ट्रका लागि नेपाल चितवनका कानुनी सल्लाहकार केएन सिलवालले सवारी साधनमा डस्टविन राख्नु बाहेक यात्रा गर्दा यातायातको साधनबाट टाउको हात बाहिर ननिकाल्न सचेतना आवश्यक रहेको र सबै यातायातका साधनमा प्राथमिक उपचारका सामान पनि राख्न अति आवश्यक रहेको बताए ।