माछापालक किसान र विज्ञहरु बीच दाना सम्बन्धी अन्तरसंवाद

August 13, 2022 5:34 pm

चितवन, श्रावण २८ । मत्स्य पालन तथा गुणस्तरीय माछाको दानामा स्वच्छता सम्बन्धी बिज्ञ र कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम चितवनको रत्ननगरमा शनिवार सम्पन्न भएको छ ।

चितवन सामुदायिक माछा दाना उद्योगको आयोजना र नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय कार्यसमिति चितवनको सह आयोजनामा भएको उक्त कार्यक्रममा माछाको दाना उत्पादन, गुणस्तर र प्रयोगका विषयमा जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।

मत्स्य विकास अधिकृत डा. गणेश अधिकारले प्रशिक्षण दिएको कार्यक्रममा बिज्ञ तथा कृषकहरुले उपभोक्ताहरुमा माछाको माग बढ्दै गएकाले दाना उद्योगहरुले गुणस्तरीय माछाको दाना उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले मत्स्य सम्बन्धि कानुनी व्यवस्था, गुणस्तरीय उत्पादन सामाग्रीहरुको उपलव्धता, प्रविधिहरुको क्षमता अभिवृद्धि र उपभोक्ताहरुको माग अनुसार स्वच्छ माछाको आपूर्ती गराउन अत्यन्त आवश्यक रहेकोमा जोड दिए ।

नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा रत्ननगर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष सोहेन्द्र खरेल, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौंपाने, मत्स्य विकास केन्द्र भण्डाराका प्रमुख माधव दाहाल, रत्ननगर नगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख शालिकराम तिमिल्सीना लगाएतले मन्तव्य राखेका थिए ।

चितवन सामुदायिक माछा दाना उद्योगका अध्यक्ष बुद्धिराम चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।