जसपालाई क्षेत्रीयतावादमा पतन गराइयो : डा. भट्टराई

August 6, 2022 3:03 pm

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) जातिवादी र क्षेत्रीय भएको टिप्पणी गरेका छन्। उपेन्द्र यादव नेतृत्वको पार्टीले जातीय र क्षेत्रीय संकीर्णताबाट माथि उठेर जनताका मुद्दा उठाउन नसक्ने भट्टराईको भनाइ थियो ।

जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकमा उनले जसपालाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताए। उनले जसपाको मूल नेतृत्व जातिगत र क्षेत्रगत संकीर्णताबाट माथि उठ्न नसकेको र सुधार्ने प्रयास पनि असफल भएको बताए।

डा. भट्टराईले भने, ‘रूपान्तरणको अन्तिम प्रयास गरेका थियौं। तर, नेतृत्वमा रहेका मानिसहरू क्षेत्रगत, जातिगत संकीर्णताभन्दा माथि उठेर जनताको हित गर्न सकेन। त्यो पार्टीलाई रूपान्तरण गर्ने अवस्था देखेनौं। पुरानै पार्टीहरूको बाटोमा हिँड्ने र उल्टै पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भयो। जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भयो, त्यसैले पुनर्गठन गर्न बाध्य भयौं।’

जारी केन्द्रीय समितिबाट नेपाल समाजवादी पार्टीलाई वैधानिकता दिइने र मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कोसँग तालमेल र गठबन्धन गर्ने भन्ने तय हुने भट्टराईले बताए। यद्यपि भट्टराईले आगामी निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताए। समावेशिता, सुशासन, समृद्धि हासिल गर्नका लागि आफूले अगाडि सारेको राजनीतिक एजेन्डा नै महत्त्वपूर्ण रहेको उनको दाबी थियो।