महिलाहरुलाई उद्यमि बन्न मन्त्री खनालको आग्रह

August 3, 2022 7:49 pm

१८ श्रावण, रत्ननगर ।
वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले आमा समुहहरुले विभिन्न किसिमका सिपमुलक तालिमहरु लिदै सिपलाई व्यवहारमा उतार्दै उद्यमि बन्नुपर्ने बताउनुभएको छ । रत्ननगर १३ मा रहेको शक्तिशाली आमा समुहको दोस्रो बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा उँहाले यस्तो बताउनुभएको हो ।

शक्तिशाली आमा समुहले गरेको कार्यलाई हौसला प्रदान गर्न आगामी दिनहरुमा अझै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै घरको चुलो चौको भन्दा माथि उठेर कार्य गर्न आमा समुहलाई मन्त्री खनालले आग्रह गर्नुभएको थियो । आमा समुहले जयमंगलामा निर्माण गरेको एक तले भवन प्रदेश सरकार तथा विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गरी निर्माण गरिएको हो । साधारण सभाको अबसरमा भवन निर्माणमा सहयोग गर्ने तथा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

भवन निर्माणमा सहयोग गर्ने चन्द्र क्षेत्री,पञ्चकन्या माविबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रसुन गौली,सोही विद्यायकी प्रधानाध्यापक अनिता पौडेल,पत्रकारिता मार्फत समाजिक विकासमा योगदान गरेवापत पत्रकार होमनाथ सापकोटा र महिला हिंसा उजागर गर्ने एक जना महिलालाई सम्मान गरिएको छ । कार्यक्रममा १३ जना उपसमितिका संयोजक तथा आमा समुहका पदाधिकारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा पञ्चदिप आधारभूत विद्यालयका २० जना गरिव तथा विपन्न समुदायका वालवालिकाहरुलाई विद्यालय पोसाक वितरण गरिएको समुहकी अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले जानकारी दिइन ।

पोसाक खरिदको लागि नुवाकोट घरभई हाल अमेरिकामा बस्ने विनिता थपलियाले आर्थिक सहयोग गरेको उनले जानकारी दिइन । साधारण सभामा अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले बार्षिक कार्ययोजना, सहसचिव पार्वती घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ज्योति घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा मन्त्री खनालले शक्तिशाली आमा समुहले विपन्न समुदायका आयआर्जनको लागि गरेको कामले आफु प्रभावित भएको बताए । यो आमा समुहले धेरैको जीवनलाई सहज बनाउने काम गरेको मैले पाएको छु उनले भने स्थानीय सरकारले समेत गर्न नसकेको काम आमा समुहबाट भएको छ ।

कार्यक्रममा वडा सदस्य शारदा न्यौपाने,पञ्चकन्या माविकी प्रधानाध्यापक अनिता पौडेल लगायतले मन्तव्य राखेका थिए । समुहकी अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य शर्मिला ढुंगानाले सञ्चालन गरेकी थिइन ।