चितवनमा यस वर्ष एसईईको नतिजा खस्कियो, ६४५ विद्यार्थीको आयो डी प्लस ग्रेड

July 28, 2022 11:28 pm

चितवन, साउन १२। चितवनमा यस वर्ष एसईईको नतिजा खस्किएको पाइएको छ ।
भरतपुर महानगरपालिका शिक्षा शाखा र शिक्षा समन्वय कार्यालय चितवनले कोरोनाको कारणले नतिजा खस्किएको पाइएको बताएका हुन् ।
जिल्ला शिक्षा समन्वय कार्यालय चितवनका प्रमुख भूमिलाल सुवेदीले अहिलेको नतिजा खुसी हुने अवस्थाको नरहेको बताएका छन् । तर, कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा परेको असरका बाबजुत नतिजा ठिकठिकै आएको उनको भनाइ छ ।

खस्किएको शिक्षा क्षेत्रलाई उकास्ने पाटोमा काम गर्नुपर्ने सुवेदीको जोड छ । यस्तै भरतपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले कोरोनाले विद्यालय शिक्षालाई कमजोर बनाएको बताए । पालिकामा रहेको सबै विद्यालयको नतिजा संकलनको क्रममा रहेको उनले जानकारी दिए । आकलन गर्दा अपेक्षित विद्यालयले समेत कम नतिजा हासिल गरेको पौडेलको भनाइ छ । अबका दिनमा विद्यालय र विद्यार्थी दुबैलाई सूधार गरेर लग्ने कार्यक्रमलाई महानगर शिक्षाशाखाले जोड दिने बताए ।

एसईई परीक्षामा चितवनका दुई जनाले ४ जीपीए ल्याएका छन् । ११ हजार ९८६ जना विद्यार्थी सहभागी भएकामा दुई जनाले चार जीपीए ल्याउन सफल भएको हो । यस्तै ५५० जनाले ३.६ देखि ४.० भन्दा कम जीपीए ल्याएका छन् । अर्थात ए प्लस ग्रेड ल्याएका हुन् । एक हजार २९२ जनाले ३.२ देखि ३.६ भन्दा तलको जीपीए (ए ग्रेड) ल्याएका छन् ।

दुई हजार ११४ जनाले २.८ देखि ३.२ भन्दा कम जीपीए (बीप्लस ग्रेड) ल्याएकाछन् । दुई हजार ४२५ जनाले २.४ देखि २.८ भन्दाकमजीपीए (बी ग्रेड) ल्याएका छन् । दुई हजार ६३९ जनाले २.० देखि २.४ भन्दा कम जीपीए (सी प्लस ग्रेड) ल्याएका छन् । दुई हजार २७८ जनाले १.६ देखि २.० भन्दा कम जीपीए (सी ग्रेड) ल्याएका छन् । ६४५ जनाले १.२ देखि १.६ भन्दा कम जीपीए (डीप्लस ग्रेड) ल्याएकाछन् । १४ जनाले ०.८ देखि १.२ भन्दातल (डी ग्रेड) ल्याएका छन् ।

चितवनको परीक्षाको नतिजा हेर्दा सि प्लस ग्रेड ल्याउने अत्याधिक रहेका छन् । क्रमशःबी ग्रेड, सी ग्रेड, बीप्लस ग्रेड, ए ग्रेड, डीप्लस ग्रेड, ए प्लस ग्रेड, डी ग्रेड, ४ जीपीए रहेको छ । जिल्लामा २३५ विद्यालयका १२ हजार ३२ जना एसईई परीक्षार्थी थिए । जसमध्ये १२९ जनाले सहभागिता जनाएनन् ।