स्थानीय तहको निर्वाचनमा ५ अर्ब रूपैयाँ खर्च

July 26, 2022 6:44 pm

काठमाडौं । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ५ अर्ब रूपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जानकारी दिएको हो ।

जसमध्ये आयोगको सचिवालयबाट मात्र १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको ७५३ वटा कार्यालय मार्फत ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रूपैयाँ, ७७ जिल्लाको निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख ७ हजार १३० रुपैयाँ, गृह मन्त्रालय मार्फत मतपेटिका ढुवानीका लागि ४ करोड ५० लाख रूपैयाँ र सञ्चार कार्यका लागि १ करोड ४५ लाख रूपैयाँ खर्च भएको प्रवक्ता पौडेलले बताउनुभयो ।

अर्थ मन्त्रालयबाट आयोगलाई ८ अर्ब ११ करोड रूपैयाँ निकासा भएकोमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रूपैयाँ खर्च भएको र ३ अर्ब ६ लाख ९६ हजार १२४ रूपैयाँ फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।