पत्रकार कृष्ण आचार्यमाथि विद्युत् प्राधिकरणका कर्मचारीद्वारा हातपात

July 15, 2022 10:22 pm

भरतपुर । प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा त्यहाँका कर्मचारीहरुले हातपात र दुव्र्यवहार गरेको आरोप लागेको छ ।
भरतपुरमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलन गर्न पुगेका पत्रकार आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गरेको पत्रकार आचार्यले बताए । उनले कार्यालय प्रमुख सिंहको ठाडो निर्देशनमा आफूमाथि हातपात भएको आरोप लगाए ।
भोज चलिरहेको फोटो खिचेर फर्किने क्रममा उनीमाथि मदिराले मात्तिएका कर्मचारीहरुले हातपात गर्दै उनको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेर लगेको पत्रकार आचार्यले बताए । जबरजस्ती फुत्किएर विद्युत्को कार्यालय परिसरबाट भागेका पत्रकार आचार्यलाई आक्रमणकारीले निकै परसम्म लखेटेका थिए । उनको छाती र हातमा चोट लागेको छ ।
यसै घटनालाई लिएर नेपाल पत्रकार महासंघ र प्रेस चौतारी चितवनको सहयोगमा पत्रकार आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिएका छन् ।
पत्रकार आचार्य चितवनबाट प्रकाशित हुने सञ्चारपत्र दैनिक र नारायणी अनलाइनसँग आवद्ध छन् ।
पत्रकार आचार्यमाथि भएको हातपात र दुव्र्यवहारको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित र संस्थापक अध्यक्ष रामबाबु सुवेदीले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै निन्दा र भत्र्सना गरेका छन् ।