सरकारको एक वर्ष, “समयको बर्बादी मात्र” : एमाले

July 15, 2022 7:46 pm

काठमाडौं, असार ३१ । नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र रहेको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो ।

एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार पत्रकार सम्मलेनमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको २०७९ असार २९ गते एक वर्ष पूरा भएको छ । सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्राल गर्नुभएको संवोधन, सरकारद्वारा प्रस्तत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हदा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको छ ।’

संविधानको रक्षा र कार्यान्वयन लोकतन्त्रको सुदृढीकरण संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेको ठहर छ ।

‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न सकेको छैन,’ एमालेले भनेको छ ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले देउवा नेतृत्वको सरकारको गएको एक वर्षको स्वास्थ्य क्षेत्रको मूल्यांकन प्रस्तुत गरेको छ ।