
चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको ग्राफ उकालो लाग्ने क्रम बढेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ९ रहेको छ ।
जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमितमध्ये आठजना होम आइसोलेसनमा छन् भने एकजना अस्पतालमा उपचाररत छन् ।
असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको छ । गत फागुन अन्तिम सातादेखि चितवनमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो ।
जिल्लामा हालसम्म ३३ हजार ५ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पाँच लाख ३९ हजार ५ सय १४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप चार लाख ५८ हजार १ सय १८ जनाले र बुष्टर डोज एक लाख ९१ हजार ६ सय ८५ जनाले लगाएको कार्यालयले जनाएको छ ।