नारायणगढ-बुटवल सडकः म्याद सकिन एक महिना बाँकी,एक चौथाइ पनि भएन काम

July 7, 2022 1:11 pm

नवलपुर । नारायणगढ–बुटवल सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा एक चौथाइसमेत काम हुन सकेको छैन । २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

अबको एक महिना अर्थात् २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै निर्णय नभएको सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत ०७५ मा उक्त सडक विस्तार कार्यको शिलान्यास गरेका थिए ।

११४ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएको छ । नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्डका अलगअलग कार्यालय स्थापना गरे पनि काम भने दुवैतिर सुस्त देखिन्छ । चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ ।

बुटवल–बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत काम भएको प्रमुख इन्जिनियर प्रदीप शाक्यले बताए । यता गैँडाकोट-बर्दघाट क्षेत्रमा हालसम्म १८ प्रतिशत मात्र काम भएको छ ।