अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए

July 6, 2022 4:55 pm

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन्।

राजीनामा माग्ने नागरिक समाज, नागरिक अगुवा र सम्पूर्ण नागरिहरूको सम्मानका खातिर आफूले राजीनामा गरेको उनले बताए। राजीनामा दिनुअघि प्रतिनिधिसभाले उनीमाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरेको थियो। उक्त समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका थिए।

समितिमा सांसदहरू खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, सुरेन्द्र यादव, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो रहेका छन्।

सभापति आफैँ चयन गर्न समितिलाई जिम्मा दिइएको छ भने समितिले आवश्यक देखेमा अन्य व्यक्तिले पनि छानविनमा सहयोग पुर्याउन सक्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।