रत्ननगरको नगर सभा : एमालेका जनप्रतिनिधिले गरे बहिस्कार

July 6, 2022 1:10 pm

रत्ननगर २२ असार । नेकपा एमालेका जनप्रतिनिधिहरुले रत्ननगर नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक बहिस्कार गरेका छन् ।

असार १० गते भएको सो नगर सभाको पहिलो बैंठकमा सहभागी भएका सो पार्टीका जनप्रतिनिधिहरुले बुधवार भएको दोस्रो बैठक भने बहिस्कार गरेका हुन । योजना तथा बजेट निर्माणमा एकलौटी गरेको भन्दै एमालेबाट उपमेयरमा निर्वाचित यादब प्रसाद पाठक, वडाध्यक्ष तथा वडा सदस्यहरु नगर सभामा उपस्थित भएनन् । पार्टीमै छलफल गरी नगर सभा बहिस्कार गरेको उपमेयर पाठकले बताए ।

उपमेयर पाठकले योजना तथा बजेट निर्माण, विषयगत समिति गठन र रकम भूक्तानी गर्ने प्रक्रिया समेतमा आफ्नो असहमती रहेको बताए । नगर सभामा छलफल हुने योजनाहरुको विषयमा पूर्व छलफल गरिदैन उनले भने नगर सभामा साक्षी बस्न जानुको केही अर्थ नभएर बहिस्कार गरेका हौं ।

उपमेयर पाठक अनुपस्थित भएपछि न्यायिक समिति, राजश्व परामर्श समिति र योजना तथा अनुगमन समितिको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले प्रस्तुत गरेका थिए । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले रत्ननगर जनप्रतिनिधिहरुको नगर सभा बहिस्कार गर्ने निर्णयलाई पार्टीले समर्थन गरेको बताए । नगर सभामा आर्थिक बर्ष २०७९/०८० को नीति,कार्यक्रम तथा बजेट बहुमतले पारित गरिएको छ । नगर सभाले विभिन्न १८बुँदे निर्णय गरेको छ ।