रत्ननगरमा मानसिक स्वास्थ्य क्लिनिक

July 3, 2022 6:38 pm

रत्ननगर, असार १९
पूर्वि चितवनको रत्ननगरमा मानसिक स्वास्थ्य क्लिनिक संचालनमा आउने भएको छ । क्लिनिकको आइतबार औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ नामक संस्थाले रत्ननगर १ निपनीमा केन्द्र उद्घाटन गरेको हो । मानसिक रोगीको उपचार र मनोरामर्शको लागि जिल्लामै पहिलो पटक सो स्वास्थ्य केन्द्र सञ्चालन गर्न लागिएको हो । धर्मशालाको व्यवसायिक भवनमा सो स्वास्थ्य केन्द्र सञ्चालन गर्ने गरी गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिसंग सम्झौता गरिएको छ । आइतवार उद्घाटन गरिएको सो केन्द्रमा एक महिना पछि विरामीको उपचार सुरु गर्ने तयारी गरिएको छ । सो स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर सहित मनोचिकित्सक र मनोपरामर्श दाताले विरामीको स्वास्थ्य परीक्षण गर्ने नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका निर्देशक डा.किरण पौडेलले जानकारी दिए ।

दुई बर्ष भित्र २५ शैय्या र पाँच बर्ष भित्र १०० शैय्याको मानसिक अस्पताल सञ्चालन गर्ने गरी रत्ननगरमा मानसिक स्वास्थ्य केन्द्र उद्घाटन गरिएको उनले बताए । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले मानसिक रोगको उपचार र रोकथामका लागि राज्यले आवश्यक ध्यान दिन नसकेको बताए । राज्यले केही गरेको भन्न मिल्दैन उनले भने रोगको भयाबहलाई हेर्दा आवश्यक ध्यान जान भने नसकेको हो ।

नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका अध्यक्ष संजय यादबको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा,बरिष्ट मानसिक रोग विशेषज्ञ डा.गिरिराज भन्त्वना,प्राइम नेपालकी उपाध्यक्ष पार्वती पाण्डे,रत्ननगर उद्योग बाणिज्य संघका महासचिव निराजन खनाल,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेल,मनोचिकित्सक डा.खगेन्द्र काफ्ले,कमल भूषाल लगायतले मन्तव्य राखेका थिए ।