पाँचथरमा पहिरोमा बेपत्ता भएका ३ जनामध्ये २ को शव फेला

July 2, 2022 1:14 pm

काठमाडौं। अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरका एकै परिवारका ३ जनामध्ये २ जनाको शव फेला परेको छ।फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए।

पहिरोमा बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रुपलाल र अर्का १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए।

पहिरोले घर बगाउँदा ४२ वर्षीय रुपलाल मगर, रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर बेपत्ता भएका थिए। पहिरोले घर बगाउँदा ७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

उद्धारका लागि स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। शुक्रबार राति करिब १० बजेतिर पहिरो जाँदा घर बगाएको थियो। शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।