रत्ननगरको बजेट १ अर्ब ३७ करोड २७ लाख

June 24, 2022 7:21 pm

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको लागि सो नगरपालिकाले १ अर्ब ३७ करोड ९८ लाख विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षको लागि ११औँ नगर सभामा उपमेयर यादवप्रसाद पाठकले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।

सो नगरपालिकाले आन्तरिक आम्दानीतर्फ राजश्वबाट ११ करोड, केन्द्र सरकारअन्तर्गत राजश्व वाँडफाँडबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त ८ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

प्रदेश सरकारअन्तर्गत राजश्व बाँडफाँटबाट ७ करोड ७५ लाख ५१ हजार, वित्तीय समानिकरण अनुदान २ करोड ८ लाख ७५ हजार, सशर्त अनुदान ४ करोड ५ लाख, समपुरक अनुदान २ करोड ७५ लाख ७१ हजार, विशेष अनुदान ३५ लाख, पूर्वाधार विकास कार्यक्रम २ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।

त्यसैगरी अन्तर स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति समपुरक अनुदान ८० लाख, जनसहभागिता १ करोड आम्दानी गर्ने लक्ष्य दिइएको छ । खर्चतर्फ आर्थिक विकासमा १ करोड ६४ लाख ५२ हजार, सामाजिक विकासमा २ करोड ५ लाख ६५ हजार, पूर्वाधार विकासमा २ करोड ४६ लाख ७८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा ७१ लाख ९८ हजार, सुशासन तथा संस्थागत विकास ३० लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी समपुरकतर्फका योजना तथा कार्यक्रम ३ करोड ८ लाख ४८ हजार, जिल्ला समन्वय समिति तथा सडक बोर्ड २ करोड ७३ लाख, सामाजिक सुरक्षा ३० करोड, प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २ करोड ६७ लाख, नगर गौरभका योजना तथा कार्यक्रम ३ करोड ८ लाख ४८ हजार, प्रशासनिक तथा चालु खर्चमा २२ करोड ५० लाख,ससर्त कार्यक्रम संघीय र प्रदेश सरकार ३७ करोड ८१ लाख,वडागत चालु र पूँजीगत खर्च १५ करोड ९९ लाख विनियोजन गरिएको छ ।

सो नगरपालिकाले ११ वटा महत्त्वपूर्ण भन्दै नगर गौरवको योजना अघि सारेको छ । जसअन्तर्गत दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान, घाँस उत्पादनमा अनुदान, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, नगर प्रमुख उद्यमशीलता कार्यक्रम, वागदेवी आधारभूत इन्जिनियरिङ, उज्यालो रत्ननगर अभियान, कृष्णसार संरक्षण, जग्गा भाडामा दिर्इ खेति गर्नेलाई प्रोत्साहन कार्यक्रम, गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनमा ५० प्रतिशत अनुदान, अतिविपन्नको उपचारको लागि सहायता कोष स्थापना र वाटर किङ्डम निर्माण रहेका छन् ।

यसका लागि ३ करोड ८ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको उपमेयर यादवप्रसाद पाठकले जानकारी दिए । वडागत रुपमा वडा नं १ मा १ करोड १ लाख,वडा नं २ मा १ करोड ८१ हजार,वडा नं ३ मा ९७ लाख ३५ हजार,वडा नं ४ मा ९८ लाख ७० हजार,वडा नं ५ मा ९६ लाख ७१ हजार,वडा नं ६ मा १ करोड ४ लाख ७७ हजार,वडा नं ७ मा ९८ लाख ५४ हजार,वडा नं ८ मा ९७ लाख ८७ हजार बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं ९ मा ९९ लाख ३२ हजार,वडा नं १० मा १ करोड ६७ हजार,वडा नं ११ मा १ करोड ६ लाख ९३ हजार,वडा नं १२ मा ९९ लाख ४० हजार,वडा नं १३ मा १ करोड १ लाख ९८ हजार,वडा नं १४ मा १ करोड ९१ हजार,वडा नं १५ मा ९६ लाख ६८ हजार र वडा नं १६ मा ९७ लाख ७२ हजार रुपैया विनियोजन गरिएको छ ।

रत्ननगर नगरकार्यपालिकाको ११औँ नगरसभामा नगरप्रमुख प्रल्हाद सापकोटाले २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षालाई आफ्नो आधार लक्ष्य बनाएको उल्लेख गरे ।

उनले ‘स्वस्थ नागरिक स्वच्छ रत्ननगर’ भन्ने नाराका साथ नगरवासीको अधिकार प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रममा समावेश गरेको जनाएका छन् ।

यस्तै, नगरप्रमुख सापकोटाले कृषि तथा पशुपालन, पर्यटन विकास, भौतिक पूर्वाधार विकास, बालबालिका तथा युवालक्षित कार्यक्रम, खेलकुद, सामाजिक सुरक्षा, सुशासन, संस्कृति, कला, भाषा, साहित्य, सूचना, सञ्चार, प्रविधि, उद्योगधन्दा प्रवद्र्धन, वातावरण तथा विपद् व्यवस्थापन गर्न विशेष कार्यनीति लागू गरिने बताएका छन् ।

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सहजीकरण गरेका थिए । नगर सभामा उत्कृष्ट कर्मचारीको रुपमा दीपा घिमिरे, रामप्रसाद बस्ताकोटी र राजेन्द्र बराललाई नगद पुरस्कारसहित समान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।