भरतपुर महानगरको बजेट रु ५ अर्ब ७४ करोड

June 24, 2022 5:40 pm

चितवनः भरतपुर महानगरपालिकाको ११ औं नगरसभामा रु ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा आन्तरिक आय रु १ अर्व ५० करोड,अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु १ अर्व ३० करोड, मर्मत सम्भार कोष बाट रु ४ करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवन बाट रु ५ करोड रहने प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षका लागि गत बर्ष बजेट प्रस्तुत हुँदा रु ४ अर्ब ८४ करोड रहेको थियो । पूरक र थप अख्तियारी समेत गरि चालु आर्थिक वर्षको बजेट रु ५ अर्व ५१ करोड ७३ लाख ८८ हजार पुगेको छ । अनुमानित आयमा २०७९ जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड प्राप्त भएको छ । गतवर्षको सुरुवाती वजेटको तुलनामा यस वर्षको बजेट रु ९० करोड बढी हो ।
बजेट प्रस्तुत गर्दै अधिकारीले अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्व ४० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । जसलाई अन्तरसरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकनको व्यवस्था गरिने छ। यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट रु १ अर्व ३० करोड बजेट विनियोजन गरिएको छ । हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइएको छ । यसरी कार्यान्वयन हुने योजनाहरुको लागि प्रत्येक वडाका लागि रु २ करोड ५० लाखको दरले जम्मा रु. ७२ करोड ५० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।
ठुला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको श्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न रु ६ करोड बजेट विनियोजन गरिएको छ । महानगरपालिकाको एकीकृत शहरी विकास गुरु योजना तर्जुमा गर्ने, महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण, विद्युतीय बसको खरिद गर्ने, महानगरभित्र अत्यावश्यक स्थानमा सार्बजनिक शौचालयहरु निर्माण, भरतपुरको मुख्य शहरी क्षेत्रलाई विकेन्द्रीकरण गर्ने उदेश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन, हरीयाली सहितको नमूना सडक निर्माण, सिचाई, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, आकाशे पुल निर्माण, आयोजना बैंक निर्माण लगायतका शहरी सौन्दर्य र भूउपयोग तथा वस्ति विकास सम्बन्धि नीतिहरु कार्यान्वयन गर्नको लागि रु २८ करोड विनियोजन गरिएको छ ।
नक्सा प्रणाली लाइ व्यवस्थित गर्नुको साथै विद्युतीय नक्सा पास प्रकृयालाइ सुदृण गर्ने र भवन संहिता सम्बन्धि तालिम सञ्चालन गर्नको लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ । कृषि तथा पशुविकासतर्फ रु १५ करोड ५० लाख विनियोजन गरिएको छ। शिक्षामा रु १३ करोड छुट्याईएको छ । महानगरपालिका भित्र ग्रावेल सानातिना मर्मत तत्काल कार्यान्वयन गर्नको लागि रु ८ करोड बजेट विनियोजन गरिएको छ।

स्वास्थ्य सेवाका लागि रु ७ करोड बजेट बिनियोजन गरिएको अधिकारीले बताउनुभयो । महानगरपालिका भित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशूल महानगरपालिकाले भुक्तानी गर्न रु ३ करोड बजेट व्यवस्थापन गरिएको छ। फोहोर मैला व्यवस्थापन र पार्क एबं हरियालीका लागि रु ७ करोड बजेट बिनियोजन गरिएको छ ।
सूचना तथा प्रविधि एवं डिजिटल प्रणालीका लागि रु ३ करोड, सहकारी तथा रोजगार प्रर्वद्धनका लागि रु २ करोड ५० लाख र पर्यटन क्षेत्रको बिकास र बिस्तारका लागि रु २ करोड ५० लाख बिनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । युवा तथा खेलकुद क्षेत्रका लागि रु २ करोड बिनियोजन गरिएको छ । लैङ्गिक समानता, महिला शसक्तिकरण र सामाजिक समावेशीकरणका लागि रु ४ करोड बिनियोजन गरिएको छ । विपद् व्यवस्थापनमा रु २ करोड ४५ लाख ५२ हजार, राजश्व प्रशासनमा रु १ करोड, कर्मचारी प्रशासन,जनशक्ति विकास तथा सुशासनमा रु १ करोड बिनियोजन गरीएको वजेट प्रस्तुत गर्दै अधिकारीले बताउनुभयो ।
नीजि क्षेत्र लयागत अन्य विकास सहयात्री सँग सहकार्य गर्न रु ५० लाख, सेवा प्रवाह र प्रशासनमा रु ७५ करोड, मागमा आधारित लक्षित वर्ग कार्यक्रम तथा सामाजिक उत्थान क्षेत्रकोसमग्र नीति कार्यान्वयन गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । बजेटले महानगरपालिकाको सामाजिक, आर्थिक, सास्कृतिक र दिगो तथा वातावरणमैत्री पुर्वाधार विकासमा रणनैतिक महत्व राख्ने अपेक्षा राखिएको उहाँको भनाई छ । बजेटले शहरी पूर्वाधार, भू उपयोग तथा वस्ति विकास र अधुरा योजनाहरुको निरन्तरता, कृषि तथा पशुविकास, शिक्षा विकास, मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाई एवं हरियाली तथा विपद् व्यवस्थापन लाई प्राथमिकतामा राखेको छ ।
प्रस्तुत बजेट माथि छलफल हुने छ । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले चालु आर्थिक वर्षका लागि गत वर्ष प्रस्तुत गरेको बजेट भन्दा रु ९० करोड बजेट थप भएको बताउनुभयो । राजस्व लक्ष्य थप गर्ने, रजिष्टे«सन शुल्क थप हुने, प्रदेश र संघको बजेट बढेका कारण समग्र वजेटमा बृद्धि भएको उहाँले जानकारी दिनुभयो । महानगर क्षेत्रमा संघ र प्रदेशका आफ्नै ठूला आयोजनाहरु संञ्चालनमा रहेका छन् ।