आइतबारको बिदाले पेट्रोलको खपत ११ प्रतिशतले घट्यो : आयल निगम

June 20, 2022 8:09 pm

काठमाडौं । नेपाल आयल निगमले जेठ महिनामा आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दावी गरेको छ ।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएका हुन् ।

उनका अनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले बताए ।

सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यद्यपि सरकारले असार १ देखि आइतबारको विदा कटौती गरेको छ ।