पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

June 19, 2022 2:34 pm

काठमाडौं। पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद् सचिवालयमा उजुरी परेको छ। पर्यटनमन्त्री आलेविरुद्ध अधिवक्ताहरू अनुपम भट्टराई र किशोर पौडेलसहित तीन जनाले आइतबार संघीय संसद्को आचारण अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी दिएका हुन्।

सचिवालयस्थित सचिवालयमा दर्ता उजुरीमा मन्त्री आलेको आचरणमाथि प्रश्न उठाइएको छ। उजुरीमा मन्त्री आलेले केही दिनअघि सार्वजनिक टेलिफोन अडियोमा नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको र अश्लिल शब्द प्रयोग गरेको र केही महिनाअघि भारतमा बस्ने एक नेपालीलाई अश्लिल शब्द प्रयोग गर्दै ठेगान लगाउने धम्की दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाइएको छ।

‘सांसदको आचारसंहिताको विषयमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधि सभा सदस्यहरूले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचार अनुकूलको व्यवहार गर्ने उल्लेख छ। यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधि सभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषयसमेत उल्लेख छ,’ निवेदनमा भनिएको छ।

नियमको बर्खिलाप हुने गरी आलेले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न नमिल्ने निवेदनमा उल्लेख छ। उनको सो व्यवहारले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्‍याएको छैन, सामाजिक सुव्यवस्थापन तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ निवेदनमा भनिएको छ। निवेदनमा सभामुख, उपसभामुख, विपक्षी दलका नेता तथा संघीय संसद्का महासचिवलाई पनि बोधार्थ गरिएको छ।