विवादमा तानियो शहीद स्मृति क्याम्पस रत्ननगरले भोगचलन गर्दै आएको जग्गा

June 17, 2022 2:01 pm

लक्ष्मण सापकोटा / रत्ननगर, असार ३

रत्ननगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसले भोगचलन गर्दै आएको जग्गा विवादमा तानिएको छ । क्याम्पसले विगत ४० वर्षदेखी भोगचलन गर्दै आएको ३ कठ्ठा १५ धुर जग्गा विवादमा तानिएको हो । २०३७ सालमा ४ विगाहा जग्गा खरिद गरेको क्याम्पसले सोही जग्गा संग जोडिएको ३ कठ्ठा १५ धुर जग्गा भने जग्गाधनि दुर्गादेवी श्रेष्ठले दान दिने सहमति भएको क्याम्पसको दावी छ ।

क्याम्पसले तारबार गरेर प्रयोग गर्दै आएको जग्गा किनबेच भएको करिब ५ बर्षपछि थाहा भएको शुक्रबार क्याम्पसले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । क्याम्पसले भोगचलन गर्दै आएको जग्गा २०७३ सालमा भोलानाथ नेपालकी श्रीमती अर्पना नेपाल र कमलचन्द्र खनालकी श्रीमती सुमित्रा खनाललाई विक्री गरी नामसारी समेत गरिदिएको क्याम्पस प्रमुख धर्मदत्त तिवारीले बताए । क्याम्पस हाता भित्रको जग्गा भूमाफियाले चलखेल गरी कब्जा गरेको आरोप क्याम्पसले लगाएको छ । ४० वर्ष देखि भोगचलन गर्दै आएको जग्गा भोगचलन गर्नेकै अधिकार हुने व्यवस्थालाई आधार मानेर जग्गा फिर्ता हुनुपर्ने माग क्याम्पसको छ ।

जग्गा विवादमा तानिएपछि जेठ १६ गते सम्पन्न क्याम्पस सभाले क्याम्पसका पूर्व अध्यक्ष तथा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी संयोजक रहेको जग्गा संरक्षण तथा विवाद समाधान समिति बनाएको छ । कानुनी प्रक्रियाकै टेकेर जग्गा क्याम्पसको पक्षमा ल्याउने समितिका संयोजक अधिकारीले बताए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष इश्वरीप्रसाद अर्यालले ४० वर्ष देखि क्याम्पसले भोगचलन गर्दै आएको जग्गा भूमाफियाको कब्जामा परेको बताए । उनले क्याम्पसको जग्गा साझा सम्पती भएकोले कुनै पनि हालतमा फिर्ता हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा राजनिति दलका प्रतिनिधि,प्राध्यापक,विद्यार्थी,क्याम्पससंग आवद्ध व्यक्तीहरुको उपस्थिति रहेको थियो ।