जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित

June 14, 2022 12:30 pm

चितवन, ३१ जेठ । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनु भएको छ । आज मंगलबार सम्पन्न निर्वाचनमा प्रमुख पदका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनु भएको छ । चितवनका सात पालिकाका १४ जना प्रमुख र उपप्रमुखले निर्वाचनमा मतदान गरेका थिए । दुवै उम्मेदवारले समान ७/७ मत ल्याएपछि गोलाप्रथा गरिएको हो ।

यसअघि नै मत बराबर हुने देखेपछि एमालेको जिल्ला नेतृत्वले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो । सोही अनुसार नेकपा एमालेले उपप्रमुख पदमा उम्मेदवारी दिएन । जसका कारण एकीकृत समाजवादीबाट उम्मेदवार कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित हुनुभयो । प्रमुख पदमा एमालेलाई एकीकृत समाजवादीले सघाउने आन्तरिक सहमती अनुसार नै एमालेले उपप्रमुखमा उम्मेदवारी नदिएको जनाएको छ । तर गठबन्धनको सबै ७ मत नेपाली काँग्रेसका पूर्णबहादुर रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरियो ।

पहिलो स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएका अधिकारी झिनो मत अन्तरले पराजित हुनुभएको थियो ।

६ जना सदस्यका लागि एमालेले ५ जना उम्मेदवार बनाएकोमा गोलाप्रथाबाट ४ जना एमालेका उम्मेदवार निर्वाचित हुनु भएको छ । खुल्लातर्फ तीन जना सदस्यमा गोलाप्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल मात्रै निर्वाचित हुनुभयो । गोलाप्रथाबाट नेकपा (एमाले)का कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित हुनुभयो ।

महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की पुजना गुरुङ शतप्रतिशत १४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँलेले गठबन्धनको मात्र नभई नेकपा एमालेको समेत ७ मत प्राप्त गर्नुभयो । एमालेले ३ जना महिला सदस्यका लागि २ जना मात्रै उम्मेदवार उठाएको थियो । अन्य महिला सदस्यहरुमा एमालेकै सविता चौधरी र अनिता नेपाल निर्वाचित हुनु भएको छ । उहाँहरु दुवै जना गोलाप्रथाबाट निर्वाचित हुनुभएको हो ।

एक जना दलित वा अल्पसंख्यक सदस्यमा पनि एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित हुनुभयो ।

सात स्थानीय तहका प्रमुख र उपप्रमुखले समन्वय समितिका लागि निर्वाचन गर्ने व्यवस्था हो । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जितेको छ भने माडी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको छ । इच्छाकामना र कालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ । त्यसैगरी रत्ननगरमा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । खैरहनी नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ ।