रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु

June 12, 2022 7:46 pm

चितवन, २९ जेठ । पूर्वी चितवनको रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएकी छिन् । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. ५ की ४२ वर्षिया सेतीमाया घलान अधिकारी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज साँझ ५ः४० बजेको समयमा रत्ननगर ५ मगरटोलस्थित भित्री सडकमा मगरटोलबाट गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नं. को कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट अधिकारीको घटनास्थलमा नै मृत्यु भएको छ भने स्थानीय ५५ वर्षिया राधिका बोटे गम्भीर घाईते भएकी छिन् ।

घाईते बोटेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भईरहेको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ भने कार चालक फरार रहेको र उनको प्रहरीले खोजी कार्य जारी राखेको छ ।