भरतपुरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्छौं : रेनु दाहाल

June 12, 2022 6:41 pm

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने बताएकी छन्। भरतपुर महानगरपालिका-२१ पार्वतीपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

भरतपुर महानगरपालिका वडा नम्बर १४, १५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन र निर्माण गरिने क्रममा रहेकाले यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने मेयर दाहालको भनाई छ। भरतपुरमा हुने विकासले नै रोजगारी सिर्जना हुने भएकाले महानगरपालिकाले यस्ता परियोजनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन्।

‘भरतपुर १४ र १५ को सिमानामा ३०० शैयाको केन्द्रीय शिक्षक अस्पताल, वडा नम्बर २१ मा केन्द्रीय उद्योगग्राम निर्माण भएपछि यहाँका स्थानीयले रोजगारी पाउने छन्,’ मेयर दाहालले भनिन्। भरतपुर महानगरपालिकाले युवासँग मेयर कार्यक्रममार्फत बैंकबाट ५ लाख ऋण लिने उद्यमीलाई ब्याजमा शतप्रतिशत अनुदान प्रदान गर्दै आइरहेको बताउँदै मेयर दाहालले यो रकमभन्दा बढी ऋण लिनेलाई सहुलियत प्रदान गर्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जानकारी दिइन्।

मेयर दाहालले महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने स्पष्ट नीतिअनुसार रोजगारी बैंक निर्माणको तयारीमा रहेको बताइन्। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले युवाहरूले सीप, दक्षतामा ध्यान दिनुपर्ने बताए। विकास निर्माणको कार्यमा सीप तथा दक्ष व्यक्तिको आवश्यक पर्ने भएकाले सबैले कुनै न कुनै सीप सिकेर बस्नुपर्ने उल्लेख गरे।