रामु आचार्य/जेठ २८,रत्ननगर ।
मानिसको काबू बाहिरको प्रतिकूल अवस्था नै विपद् हो, विपद् विभिन्न प्रकोपजन्य तत्वहरूका कारण उत्पन्न हुन्छ । विशेषत यसले मानव जीवनमा प्रतिकूल प्रभाव पार्दै पहिलेको अवस्थाभन्दा फरक अवस्था सिर्जना गरिदिन्छ । विपद् व्यवस्थापनका लागी पहिले नै सजग र तयारी गर्न सके यस बाट हुने क्षतिमा न्यूनता ल्याउन सकिने कुरालाई आत्मसात गर्दै आज कपरफोरी बालुवाटार विपद् जोखिम न्यूनीकरण समाजको आयोजना तथा रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयको सहयोगमा, रत्ननगर ९ स्थित इको पार्कमा वडा स्तरिय जोखिम व्यवस्थापन अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडी, श्री नम्बर २ विपद् व्यवस्थापन नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी, ट्राफिक प्रहरी, रत्ननगर नगरपालिका लगाएतका संस्थाका विज्ञहरु बाट बाट प्रशिक्षण प्रदान भएको थियो प्रशिक्षणमा प्रकोप पुर्वको तयारी, प्रकोप न्यूनीकरण कसरी गर्ने, विपद् व्यवस्थापनका सामाग्रीहरु के के हुन् , सामाजिक विपद् प्रतिकार्य लगाएतका विषयमा प्रशिक्षण गराईएको थियो ।
विपद् व्यवस्थापनका लागी सबै भन्दा पहिले जोखिमका स्थान पहिचान गर्ने र त्यो ठामको स्थानियहरुलाई विपद् व्यवस्थापन सम्वन्धि जानकारी गराउने तथा तालिम प्रदान गर्नेहो भने विपद् न्यूनीकरण गर्न सकिने रत्ननगर नगरपालिकामा विक्रम संवत २०६६ सालमा स्थापना भएको दैवी प्रकोप उद्धार तथा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष तथा हाल सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी बताउनुहुन्छ ।
नेपाल विश्वका अति प्रकोप जोखिम देशहरू मध्ये एक हो । गरिब देशका विपन्न समुदायहरू विपद् बाट केवल प्रभावित मात्र भएका छैनन् कि तिनीहरू संग विपत्तिपूर्ण घटनाहरू र तिनको परिणतिको सामना गर्ने क्षमता पनि कम छ । मानिसहरुलाइ जोखिम व्यवस्थापनमा सचेत गराउदै विगत लामो समय देखि आफुहरुले कार्य गरिरहेको नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाका सभापति गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
मुख्यतया नेपालमा बाढी , पहिरो, डुबान, भूकम्प, चट्याङ, आगलागी, शीतलहर, हिमपहिरो आदि प्रकोपबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । जोखिमको पूर्वसुचना समयमै प्रवाह गरी सावधानी अपनाउनाले पनि विपद् न्यूनीकरण हुने भएकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था कपरफोरी बालुवाटार विपद् जोखिम न्यूनीकरण समाजको अध्यक्ष रामचन्द्र पौडेल बताउनुहुन्छ ।
रत्ननगर ९ मा विशेष गरि बाढि, जंगली जनावरको आक्रमण, डुबान, कटान, सवारी दुर्घटना जस्ता विपद् हरु देखिएको छ । रत्ननगर भरिकै बढि विपद् हरु देखापर्ने वडा भएको कारण वडा स्तरिय जोखिम व्यवस्थापन अभिमुखीकरण तालिमको आवश्यकता खड्किएको रत्ननगर ९ का वडाध्यक्ष अनन्त अधिकारी बताउनुहुन्छ ।
विपदबाट हुने क्षति कम गर्न तथा विपद जोखिम न्यूनीकरणको प्रमुख उपाय सावधानी नै हो । पछिल्लो समयमा प्रविधिले फड्को मारे संगै यसको उपयोगितामा वृद्धि गर्न जरुरि छ, यस्ता सावधानी र चेतनाले नै जोखिम कम गर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको जोड थियो ।
विपद आइपरेमा सुरक्षा निकायका कार्यालयहरु तथा नजिकको सुरक्षा निकायको कार्यालय, जिल्ला प्रशासन कार्यालय, आपतकालीन कार्यसंचालन केन्द्र, स्थानीय दैवी प्रकोप उद्धार समिति, स्थानीय नेपाल रेडक्रस सोसाइटीका कार्यालयहरु, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालयमा उद्धारका लागि सम्पर्क गर्न सकिनेछ ।
रत्ननगर ९ का कार्यालय सचिव सुरेन्द्र चौधरीले संचालन गर्नुभएको कार्यक्रममा कपरफोरी बालुवाटार विपद् जोखिम न्यूनीकरण समाजको सदस्य मणि प्रकाश खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कपरफोरी बालुवाटार विपद् जोखिम न्यूनीकरण समाजको अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।