पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

June 9, 2022 9:30 am

चितवन, २६ जेठ । पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला र नारायणगढ मुग्लिन सडकको तोपेखोलास्थित नाम्सी पुलमामा पहिरोले सडक अवरुद्ध बनेको छ । नाग्दीमा बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । अहिलेपनि पानी परिरहेको र पहिरो खस्ने क्रमपनि नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।

पानी पर्न नरोकिएपछि अझै पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नाग्दी खोलामा ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने हुँदा सुरक्षित स्थानमा बस्न यात्रुहरुलाई अधिकारीले आग्रह गर्नुभयो ।
पहिरोका कारण काठमाडौं जाने आउने गाडीहरू ठप्प भएका छन् । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक–पटक अवरूद्ध हुने गरेको छ ।

यस्तै नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा खसेको पहिरो पन्छाउने काम सकिएको छैन । जसका कारण सवारीसाधनको चाप झन् बढेको छ । नारायणगढसम्मै सवारीसाधनको लाइन लागेको छ । हजारौं यात्रुहरु अहिले अलपत्र परेका छन् ।