भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

June 7, 2022 5:30 pm

चितवन,जेठ २४- भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु गरिएको हो ।

हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरुप यो सेवा सुरु गरिएको महानगरप्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।” पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुआत गरिएको उहाँले बताउनुभयो । स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत सेवा लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।” जनताले सेवासुविधा चुस्त रुपमा पाउन सक्ने उहाँको भनाइ थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम सुरु गरिएको बताउनुभयो । डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरु लिन सहज हुने उहाँले बताउनुभयो ।