श्रीमानको कुटपिटबाट घाइते भएकी माझीलाई राप्ती पत्रकार मञ्चको आर्थिक सहयोग

May 30, 2022 10:14 pm

चितवन, जेठ १६-
श्रीमानको कुटपिटबाट घाइते भएकी गिता माझीलाई राप्ती पत्रकार मंचले आर्थिक सहयोग गरेको छ । राप्तीका पत्रकारहरुको संगठन राप्ती पत्रकार मञ्चले माझीलाई सोमबार नगद १० हजार ९ सय ५० रुपैयाँ सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष राजन दिल गुरुङ,सचिव सुरज बराकोटी, कोषाध्यक्ष सुजा गौतम सहितको टोलीले माझीलाई उपचार कक्षमै पुगेर नगद सहयोग हस्तान्तरण गरेको अध्यक्ष गुरुङले बताए ।

माझीको स्वास्थ अवस्था सुधारोन्मुख रहेको ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले बताइन् । ‘वहाँको अवस्था पहिले भन्दा सुधार भएको छ । अहिले सामान्य हिँडडुल गर्न सक्नुहुन्छ ।’ सुवेदीले बताइन । माझीको सोमबार दिउँसो सफल शल्यक्रिया भएको पनि उनले जानकारी दिइन् ।

खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार साझ श्रीमती गिता माझिलाई कोठामा बन्दक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए । लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने, फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहन सक्ने डाक्टर दीपेन्द्रले बताए ।

हिंसाबाट प्रभावित महिला सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) ले गीताको निःशुल्क उपचार गरिरहेको छ ।अस्पतालबाट पाईने औषधी त्यहि उपलब्ध हुने र महँगो र बाहिरबाट ल्याउन पर्ने औषधी पनि निशुल्क नै हुने भरतपुर अस्पतालका ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले जानकारी दिए।

कोहि पनि कमाउने व्यक्ति नभएको उनको परिवारमा एउटा छोरी बिहे भएको र दुइ छोरी साना भएकोले यो सहयोग रकमबाट पौष्टिक आहार खानको लागि सहयोग रकम प्रदान गरेको राप्ती पत्रकार मन्चका अध्यक्ष राजन दिल गुरुङ्गले बताए।