आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने

May 29, 2022 8:24 am

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।

ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो ।

सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको स्रोतले बतायो । मन्त्रालय स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक-दुई वर्ष घट्न सक्छ ।’

सरकारले बजेटमार्फत् निजामती कर्मचारीहरुको तलब बढाउने तयारी पनि गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरुको छ । तर देश आर्थिक संकटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ । यद्यपि कर्मचारीको तलबमा सामान्य वृद्धि हुने सम्भावना रहेको स्रोतले बतायो ।

यसअघि योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर, त्योभन्दा ठूलो आकारमा बजेट आउने बताइएको छ ।