प्रहरी निरीक्षक गुरुङ सम्मानित

May 29, 2022 8:19 am

पूर्वी चितवन तमु समाजले प्रहरी निरीक्षक कुमार गुरुङलाई सम्मान गरेको छ । गुरुङ यही वैशाख १ गते ईलाका प्रहरी कार्यालयमा प्रहरी प्रमुखको रुपमा आएका थिए । जेठ २ गते परेको बुद्ध जयन्तिको अवसरमा गरिने भनेको सम्मान कार्यक्रमलाई शनिबार गरिएको हो ।

समग्र गुरुङ जातिको पहिचान र इज्जत बनेर जनताको लागि अहोरात्र खटिएका व्यक्तिलाई सम्मान गर्न पाउदा पूर्वी चितवन तमु समाज राप्तीले गर्व महशुस गरेको अध्यक्ष लेख बहादुर गुरुङले बताए ।

यस क्षेत्रमा भर्खर मात्र नियुक्ति भएको तर पनि यसरि सम्मान पाउँदा थप हौसला र उत्साह थपिएको आएको प्रहरी निरीक्षक गुरुङले बताए । जनताको सुरक्षाको निमित्त २४ घण्टा नै आफु सतर्क भएको र जनताको लागि हरपल लागि पर्ने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक राजन दिल गुरुङले प्रहरी निरीक्षक गुरुङको खुलेर प्रशंसा गरे । “कुमार गुरुङ २०७३ सालमा प्रहरी सहायक निरीक्षक पदमा रहेर विभिन्न जिल्लामा कर्मठ र इमान्दार बनि जनताको सेवा गर्दै आउनु भएको थियो । २०७५ साल बैशाख ०५ गते प्रहरी निरीक्षकमा बढुवा भएर जन धन सुरक्षा र आपत विपदको समयमा जनताको लागि खटिएर समग्र गुरुङ जातिको शिर उच्च पार्ने काम गरेकोले उहाँलाई सम्मान गरिएको हो ।” उनले भने । आगामी दिनमा पनि कर्मठ र अनुशासित बनेर जनताको सेवामा लाग्न उनले शुभकामना व्यक्त गरेका छन् ।

राप्तीका नव निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको कार्यक्रमको सभाध्यक्षमा पूर्वी चितवन तमु समाज राप्तीका अध्यक्ष लेखबहादुर गुरुङ रहेका थिए । त्यस्तै प्रमुख अतिथिमा राप्ती नगरपालिकाको नगर प्रमुख शमशेर लामा, विशिष्ट अतिथिमा राप्ती नगरपालिकाको नगर उपप्रमुख देबेन्द्र लामा, अतिथिहरुमा राप्ती ७ का वडाअध्यक्ष सुमिता डल्लाकोटी र तमु समाजको भवनको लागि जग्गा उपलब्ध गराएका खगेन्द्रकुमार घले रहेका थिए ।