आजदेखि बागमती प्रदेशको बजेट अधिवेशन

May 27, 2022 12:08 pm

काठमाडौं। आज शुक्रबारदेखि बागमती प्रदेशको बजेट अधिवेशन सुरु हुँदैछ। प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ १६ गते सोमबार प्रस्तुत हुने निर्णय गरेको छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सोमबार नै मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको बताइएको छ। जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ।