विकास र स्थिरता रोक्न गठबन्धन बन्यो : केपी ओली

May 10, 2022 5:05 pm

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राप्रपाका नेता राम थापा नेपाली काँग्रेसको बुई चढेको बताएका छन्। मंगलबार झापाको दमकमा आयोजित चुनावी आमसभामा अध्यक्ष ओलीले थापाले मेयरको टिकट ल्याएपछि काँग्रेसका नेता तथा कार्यकाल जिल्ल परेको बताए।

उनले भने, ‘सट्याकसुटुक भएको साँठगाँठबाट राम थापाले मेयरको टिकट ल्याउनु भयो। यता काँग्रेसका कार्यकर्ता जिल्ला परे।’ एमालेसँग एक्लै भिड्न नसकेपछि काँग्रेसको सातो गएको ओलीले बताए। उनले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनेको टिप्पणी गरे।

‘एमाले तपाईंका बीचमा न्याय माग्न आएको छ, यतिबेला न्याय वैशाख ३० गते दिनुपर्छ,’ ओलीले भने, ‘एमालेसँग पाँच दलले बोक्न नसक्ने भएपछि हलो पनि बोकेर हिँडेका छन्। दमकमा त सातो पुत्लो नै गएछ। दमकका काँग्रेसहरूले हलो बोकेर हिँड्नुपरेको छ।’ उनले पाँच दलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु रहेको आरोप लगाए। ओलीले पाँच दलीय गठबन्धनले देशमा विकास गर्ने एमालेप्रति घेराबन्दी गरेको बताए।

‘पाँच दलीय गठबन्धनको केही उद्देश्य छैन। उनीहरूको उद्देश्य देशको विकास रोक्नु हो। सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु हो,’ उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नदिने हो। यो सबै कुरा अघि बढाउने नेकपा एमाले हो। त्यसकारण सबै मिलेर एमालेलाई घेराबन्दी गरे। एमालेविरुद्ध मोर्चा बनाएर हामीलाई झम्टिरहेका छन्।’