शैक्षिक व्यक्ति रानामगरको शालिक सिलान्यास

May 8, 2022 10:50 am

चितवन २५ वैशाख ।
पूर्वी चितवनको वीरेन्द्र आदर्श माध्यमिक विद्यालय स्थापना गर्न योगदान गरेको भन्दै सामाजिक व्यक्ति प्रेमवहादुर रानामगरको शालिक निर्माणको लागि सिलान्यास गरिएको छ । प्राथमिक विद्यालय भएपनि माध्यमिक तहको अध्ययन गर्न टाढा जानु पर्ने वाध्यतालाई हटाउदै रानामगरले आन्दोलन गरेर दवाव दिएपछि मात्र माध्यमिक विद्यालय स्थापना भएको थियो । लामो समयदेखि उहाँको शालिक स्थापना गर्ने भनेपनि विभिन्न कारणले काम हुन नसक्दा आज सिलान्यास भएको वीरेन्द्र आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कडेलले जानकारी दिनुभयो । यो विद्यालय स्थापनामा उहाँको योगदानलाई हामीले सम्झन पर्छ उहाले भन्नुभयो उहाँको कारणले गर्दा यहा शैक्षिक विकास भएको छ । शिक्षाको क्षेत्रमा योगदान दिएका व्यक्तिको इतिहासलाई जोगाउन शालिक स्थापना गरेको बताउनुभयो । प्रेमबहादुर रानामगर प्रतिष्ठानका अध्यक्ष करुन गुरुङले उहाँको नामबाट प्रतिष्ठान स्थापना गरेर सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो । पूर्व शैनिक रानामगरले वीरेन्द्रनगरको वस्ती स्थापनाका लागि धेरै भूमिका खेल्नु भएको उहाले बताउनुभयो । रानामगरका भाञ्जा नारायणसिं थापामगरले विद्यालय स्थापना गर्नको लागि रानामगरको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग ४८ घण्टा बन्द गरिएको जानकारी दिनुभयो । धेरै प्रयास गर्दापनि काम नभएपछि राजमार्ग बन्द गरेर दवाव दिएपछि मात्र माध्यमिक विद्यालय स्थापना भएको थापामगरले बताउनुभयो । शालिक निर्माणमा रानामगरको परिवारले लगानी गर्ने प्रेमवहादुर रानामगर प्रतिष्ठानका सल्लाहकार सहनलाल लामाले जानकारी दिनुभयो । शालिक स्थापना अगाडि बाजागाजा सहित कार्यक्रम स्थलमा आएको थियो । वीरेन्द्र आदर्श माध्यमिक विद्यालय अगाडि पूर्णकदको शालिक निर्माण गरिदैछ ।