संघको निर्वाचनसम्म गठबन्धन रहन्छ : शेरबहादुर देउवा

May 7, 2022 8:56 pm

तनुहँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उद्देश्य गठबन्धनलाई सफल पार्ने भएको बताएका छन्। शनिबार देउवाले तनहुँको दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए।

उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ। गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन्। स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा मात्रै उद्देश्य नेपाली कांग्रेससँग छ। नेपाली कांग्रेसले कुनै पनि हालतमा गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रुपमा बचाउनु पर्छ।’ प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको बताए।

उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे। आफूबाहेक अरुलाई काम गर्न नदिने र आफू विरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक पटक संसद् भङ्ग गरेको उनले आरोप लगाए।