मतपत्र छपाइ सकियाे, २३ गतेसम्म सबै जिल्लामा पुर्‍याइने

May 5, 2022 7:03 pm

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि सबै मतपत्र छाप्ने काम सकिएको र वैशाख २३ गते भित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने जानकारी दिए ।

त्यस्तै, आयोगले निर्वाचनका लागि खटाइएका कर्मचारीले काम गर्न इन्कार गरेमा कानुन बमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले भनेको छ । त्यस्तै उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने प्रवक्ता पौडेलले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमनत्री र निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष लगायत हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जानकारी दिए ।

प्रवक्ता पौडेलले यस पटक मतदाता शिक्षालाई प्रभावकारी बनाइएको भन्दै मत बदर हुने संख्या निकै घट्ने विश्वास व्यक्त गरे ।