चितवनमा सत्ता गठबन्धन दलको आमसभा : क-कसले गर्दैछन् सम्बोधन ?

May 3, 2022 3:20 pm

चितवन। चितवनमा सत्ता गठबन्धन दलले बृहत आमसभाको आयोजना गर्ने भएको छ। २२ वैशाखमा भरतपुर केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरूको सहभागितामा आमसभा हुन लागेको हो।

सभामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए।

आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने चितवन कांग्रेसका उपसभापति राजीव न्यौपानेले जानकारी दिए।

त्यस्तै जनता समाजवादी र राष्ट्रिय जनमोर्चा (राजमो) को केन्द्रीय तहका नेताले पनि आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाललाई उम्मेदवार बनाएको छ भने उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ।