काँग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

April 29, 2022 12:18 pm

काठमाडौं। नेपाली काँग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ। स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी फिर्ता नलिनेहरू पार्टीबाट स्वतः निष्कासित हुने बताएको छ।

यदि बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छन्।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने ब्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।