वैशाख ३० गते नै निर्वाचन हुन्छ : अध्यक्ष प्रचण्ड

April 18, 2022 7:11 pm

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सर्ने भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन् । देशव्यापी रूपमा स्थानीय तहको निर्वाचन प्रक्रियामा सबै राजनीतिक दल जनताका बीचमा गइरहेका बेला निर्वाचन सर्ने भनेर गरिएको प्रचार सत्य नरहेको उनले बताएका हुन् । ‘केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नि हो ? भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।’

नेकपा माओवादी केन्द्रद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा उनले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नि ? भन्ने प्रश्नको जिज्ञासामा भने, ‘विप्लव समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ । उहाँहरू पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ । त्यसको सम्मान गर्नुपर्छ । तर निर्वाचन भने सर्दैन ।’ अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि गठन भएको आफूहरूको गठबन्धनलाई नै जनताले पुनः साथ दिने विश्वास व्यक्त गरे ।