काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई असहयोग गरेका कारण कारबाही गर्नुपरेको बताएका छन्।
आज (सोमबार) बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरमाथिको कारबाही र पछिल्लो अर्थतन्त्रमाथिको संकटबारे प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए। सोको जवाफ दिने क्रममा प्रम गभर्नर अधिकारीले अर्थमन्त्रीलाई असहयोग गरेको भन्ने गुनासो बढेकाले कारबाही गरिएको प्रधानमन्त्री देउवाले बताए।
अर्थमन्त्री जनार्दन शर्माले आफूलाई गभर्नरले काम गर्न नदिएको र आफूले गरेका कामहरुमा असहयोग गरेको भन्ने गुनासो आफूसमक्ष गरेको पनि प्रधानमन्त्रीले बताए।
सरकारले शुक्रबार गभर्नर अधिकारीमाथि सर्वोच्च अदालतका पूर्व–न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो, जससँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका छन्। गभर्नरमाथिको आरोप छानबिनपछि पुष्टि भएमा सरकारले उनलाई बर्खास्त गर्नेछ।