फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

April 6, 2022 8:30 am

काठमाण्डौं, २३ चैत । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको हो । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १५५ र डिजेल तथा मट्टीतेल १३८ रुपैयाँ थियो।
सबैभन्दा बढी खाना पकाउने ग्यासको मूल्य बढेको छ। प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ। अब ग्यास प्रतिसिलिन्डर एक हजार ६ सय रुपैयाँ पुगेको छ।

हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर बनाएको छ।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि भाउ बढाइएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्। यसअघि निगमले २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।